साउन २६, २०८२, ललितपुर – मुलुकका सातै प्रदेशका ४५ जना किशोर–किशोरीको सहभागितामा किशोर–किशोरीको राष्ट्रिय भेला २०८२ ललितपुरमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस भेलामा किशोर–किशोरीका हकहित, क्षमता विकास र नेतृत्व सुदृढीकरणका विविध विषयमा छलफल, अभिमुखीकरण तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुनेछन्।
कार्यक्रमका प्रमुख सत्रहरूमा बालक र किशोरहरूको लैंगिकता र उनीहरूले सामना गर्नुपरेका जोखिम, मानसिक स्वास्थ्य, राष्ट्रिय युवा दिवसको सन्दर्भमा दिगो भविष्य र युवा सशक्तीकरण जस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन्। साथै, प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता, समूहगत गतिविधि तथा सांस्कृतिक प्रस्तुति जस्ता कार्यक्रममार्फत सहभागिता र आपसी सिकाइलाई अझ सशक्त बनाइनेछ।
यो भेला सेभ द चिल्ड्रेन इन्टरन्यास्नल र फ्री अ गर्लको सहयोगमा, सिविन नेपाल, राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) नेपाल र बालिका दुलही होइनन्को समन्वयमा, राष्ट्रिय किशोरी सञ्जाल तथा राष्ट्रिय किशोर सञ्जालको संयुक्त आयोजनामा सम्पन्न भइरहेको हो।









