पुष ११ गते २०८२, सिन्धुली ।
सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संघसंस्थाका कर्मचारीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बालबालिका तथा किशोरकिशोरीमा देखिन सक्ने विभिन्न मानसिक स्वास्थ्यसम्बन्धी समस्या, तथा तिनको पहिचानको विषयमा छलफल गरिएको थियो। साथै, मानसिक स्वास्थ्य समस्या देखिएको अवस्थामा उपलब्ध सेवा–सुविधा, उपचार प्रक्रिया तथा आवश्यक परेमा सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गर्ने प्रणालीबारे पनि जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा मरिण गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, बालबालिकासँग प्रत्यक्ष रूपमा काम गर्ने संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई बालबालिकामा देखिने मानसिक स्वास्थ्यसँग जोडिएका लक्षणहरू पहिचान गर्ने तरिका र समयमै हस्तक्षेपको महत्त्वबारे समेत अवगत गराइएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नु, यस विषयमा समाजमा विद्यमान भ्रम र गलत धारणाहरू चिर्नु तथा सम्बन्धित सरोकारवालाबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ।
यस प्रकारका कार्यक्रमले स्थानीय तहमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

