पुष १६ गते २०८२, काठमाडौं ।

नेपालमा बालबालिकामाथि अनलाइन माध्यमबाट हुने यौनजन्य हिंसा, शोषण तथा दुव्र्यवहार रोक्न सरोकारवालाको भूमिका बलियो बनाउने उद्देश्यले आयोजना गरिएको कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यशालामा नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी उपरीक्षक प्रद्य ु म्न ताम्राकारले नेपालमा अनलाइन माध्यमबाट बालबालिकामाथि भइरहेका यौनजन्य हिंसा तथा दुव्र्यवहारका घटनाबारे जानकारी गराउनुभयो। उहाँका अनुसार नेपालभित्र मात्र नभई विदेशस्थित सुरक्षा संयन्त्रहरूबाट समेत दैनिक करिब १०० वटासम्म यस्ता घटनाबारे सूचना साइबर ब्युरोमा आउने गरेको छ। कार्यक्रममा यस्ता जोखिमबाट बच्ने उपाय र सुरक्षाका सम्भावित उपायहरूबारे समेत छलफल गरिएको थियो।

त्यसैगरी, इन्टरनेट सेवा प्रदायक संघ (ISPA) का अध्यक्ष सुवाष खड्काले नेपालमा करिब ९० प्रतिशत नागरिकले स्मार्टफोन प्रयोग गर्ने गरेको र त्यसमा ४५ देखि ४७ प्रतिशत प्रयोगकर्ता बालबालिका रहेको अपुष्ट तथ्यांक रहेको जानकारी गराउनुभयो। उहाँका अनुसार करिब ३० प्रतिशत बालबालिकाको पासवर्ड व्यवहार कमजोर रहेको छ भने करिब ५५ प्रतिशत बालबालिकालाई अनलाइनमा हिंसा भएमा कहाँ र कसरी रिपोर्ट गर्ने भन्ने जानकारीसमेत छैन।
उहाँले अनलाइन हिंसा रोकथामका लागि सचेतनामूलक कार्यक्रम मात्र पर्याप्त नहुने भन्दै प्रयोगकर्ताको व्यवहार परिवर्तनमा केन्द्रित कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, प्रविधिसँग सम्बन्धित विषयलाई सकेसम्म सरल र सबैले बुझ्ने खालका सामग्रीमार्फत सरकार र नागरिक समाज संस्थाबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले बालबालिकाको अनलाइन सुरक्षा सुनिश्चित गर्न विद्यालय पाठ्यक्रम परिष्कृत गर्ने विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभयो। साथै, अनलाइन हिंसा सम्बन्धी रिपोर्टिङ संयन्त्रलाई बलियो बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले अनलाइन हिंसाका घटनाहरू, सुरक्षाका उपायहरू तथा त्यसमा देखिने जटिलताहरूबारे अन्तरक्रियात्मक छलफल गरेका थिए। कार्यक्रममा स्थानीय तहका पदाधिकारी, किशोरकिशोरी तथा युवा, इन्टरनेट सेवा प्रदायक, बालबालिकाको अनलाइन सुरक्षामा कार्यरत नागरिक समाज संघसंस्था तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रम Terres des Hommes Netherlands (TDH Netherlands ) सँगको साझेदारीमा सिविन नेपालले आयोजना गरेको हो ।