माघ २१ गते २०८२, चितवन ।
चितवन जिल्लाको मुगलिङ् बजारमा होटलमा श्रम शोषणमा परेका २ बालिका र ४ बालकलाई संयुक्त अनुगमन टोलीले उद्धार गरेको छ। श्रम तथा रोजगार कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय चितवन, बालहेल्पलाइन १०९८ मकवानपुर, प्रदेश बालअधिकार समिति तथा इच्छाकामना गाउँपालिकाको संयुक्त टोलीले गरिएको अनुगमनका क्रममा बालश्रम शोषणमा संलग्न अवस्था फेला पारी उनीहरूलाई उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन हेटौंडा ल्याई हाल बालहेल्पलाइन १०९८ मकवानपुरको संरक्षणमा राखिएको छ। प्रदेश बालअधिकार समितिका सदस्य मन्जु बैरागी ठकुरी, बालहेल्पलाइन १०९८ मकवानपुरका प्रबन्धक तथा प्रदेश बालअधिकार समितिका सदस्य झबिन्द्र ज्ञवाली, श्रम तथा रोजगार कार्यालयका प्रतिनिधि अनिता रसाइली र सर्मिला राई, इच्छाकामना गाउँपालिकाका बालकल्याण अधिकारी पार्वती मगराती तथा इलाका प्रहरी कार्यालयका प्रहरीहरू सम्मिलित टोलीले बालबालिकाको उद्धार गरेको हो ।


