चैत ५ गते २०८२, मकवानपुर
मकवानपुरमा बालअधिकार तथा बाल संरक्षण विषयक एक दिने जिल्ला स्तरीय छलफल गोष्ठी सम्पन्न भएको छ। CWIN-Nepal को आयोजनामा, Shapla Neer को सहयोग तथा जिल्ला समन्वय समिति मकवानपुर को समन्वयमा हेटौंडामा आयोजित उक्त कार्यक्रममा जिल्लाभरका स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकाय तथा बालअधिकारसँग सम्बन्धित व्यक्तिहरू गरी ९६ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा बालअधिकार समिति गठन तथा सक्रियता, बालकल्याण अधिकारीको भूमिका, आकस्मिक कोषको स्थापना तथा सञ्चालन, वैकल्पिक हेरचाह, बालमैत्री स्थानीय शासन, तथा बालबालिकाका लागि बजेट विनियोजन लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, बाल संरक्षण प्रणाली सुदृढीकरण र बाल श्रम न्यूनीकरणका लागि स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन बादे ले बालबालिकाको अधिकार सुनिश्चित गर्न नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा मकवानपुरका १० वटै पालिकाका उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, साथै सबै पालिकाका सामाजिक विकास समितिका संयोजकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अन्य वक्ताहरूले समेत बाल संरक्षणको क्षेत्रमा स्थानीय तहको भूमिका अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

