चैत २२ गते २०८२, चितवन ।
चितवनको कुरिनटार क्षेत्रबाट बालश्रममा संलग्न ३ बालबालिकाको उद्धार गरिएको छ।
श्रम तथा रोजगार कार्यालय हेटौंडा, इलाका प्रहरी कार्यालय मुग्लिङ्ग, बालहेल्पलाइन नेपाल १०९८ मकवानपुर तथा इच्छाकामना गाउँपालिकाको संयुक्त टोलीले चितवन जिल्लाको कुरिनटार क्षेत्रका विभिन्न होटलहरूमा अनुगमन तथा निरीक्षण गर्ने क्रममा बालश्रममा संलग्न बालबालिकाहरूको उद्धार गरेको हो। अनुगमनका क्रममा बन्दीपुर गुरुङ होटल एण्ड गेस्ट हाउस, एस एण्ड पी होटल, इच्छाकामना होटल एण्ड राना लज, लिजन होटल एण्ड गेस्ट हाउस लगायतका होटलहरूबाट २ जना बालक र १ जना बालिका गरी ३ जना बालबालिका बालश्रममा लगाइएको अवस्थामा फेला परेका थिए।
उद्धार गरिएका बालबालिकामध्ये धादिङ जिल्लाका १२ वर्षीय र ११ वर्षीय दुई बालक, तथा चितवन घर भएकी १४ वर्षीया एक बालिका रहेका छन्। उनीहरूलाई उद्धार गरी थप संरक्षण तथा व्यवस्थापनका लागि बालहेल्पलाइन नेपाल १०९८ मकवानपुरमा राखिएका छन् ।
कुरिनटार क्षेत्र पर्यटकहरूको आवतजावत हुने स्थान भएकाले यहाँ साना–ठूला होटलहरूको संख्या बढी रहेको र केही होटलहरूमा अझै पनि बालश्रम हुने सम्भावना रहेको अनुगमन टोलीले जनाएको छ। यसअघि पनि यस क्षेत्रमा गरिएको अनुगमनमा केही होटलहरूबाट बालबालिकाको उद्धार गरिएको र सम्बन्धित व्यवसायीहरू विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको बाल हेल्पलाइन मकवानपुरका व्यवस्थापक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ ।

