बैशाख ८ गते २०८३, सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा माध्यमिक विद्यालयका शिक्षकहरुलाई लक्षित गरी बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले कार्यक्रम समय सान्दर्भिक रहेको बताउनुभयो। “केही समयअघिसम्म आत्महत्या दर उच्च रहेको यस पालिकामा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यका विषयमा छलफल आवश्यक थियो,” उहाँले भन्नुभयो। शिक्षकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिमुखीकरणबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले मानसिक स्वास्थ्यमा असर पार्ने कारकहरूमाथि काम गर्ने क्रममा आगामी दिनमा मदिरा उत्पादन, बिक्री तथा वितरण व्यवस्थापनमा समेत पहल गरिने जानकारी दिनुभयो।

दुई दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका सातै वडाका १२ विद्यालयबाट ५० जना शिक्षक सहभागी भएका थिए। कार्यक्रम मरिण गाउँपालिकाको समन्वयमा प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपालको सहकार्यमा सञ्चालन गरिएको हो।

यसै महिनाको अन्त्यमा मरिण गाउँपालिकासँगै कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकाका विद्यालयहरूमा बालबालिकाको मानसिक स्वास्थ्य समस्या पहिचानका लागि हेल्थ क्याम्प सञ्चालन गरिने जनाइएको छ।