बैशाख १० गते २०८३, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिकामा माध्यमिक विद्यालयका शिक्षकहरुलाई लक्षित गरी दुईदिने बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकाभित्रका सबै २७ माध्यमिक विद्यालयबाट ६० जना शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बालबालिकामा देखिने विभिन्न मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, प्रारम्भिक व्यवस्थापन तथा समाधानमा शिक्षकहरुले खेल्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। साथै, बालबालिकामा देखिने चिन्ता, तनाव, व्यवहारगत परिवर्तन, आत्मघाती सोचजस्ता समस्याहरु पहिचान गरी आवश्यक परेमा विज्ञसम्म पुर्याउने रिफरल मेकानिजमबारे समेत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा विशेषगरी कमलामाई क्षेत्रमा पछिल्लो समय किशोरकिशोरीमा आत्महत्याको बढ्दो जोखिम, लागुऔषध तथा मादक पदार्थ दुर्व्यसनजस्ता गम्भीर समस्या बढ्दै गएको अवस्थाप्रति बारे सहभागी शिक्षकहरुले चिन्तासमेत व्यक्त गरेका थिए । यस्ता समस्याको न्यूनीकरणका लागि विद्यालयस्तरबाटै सचेतना अभिवृद्धि गर्नुका साथै अभिभावक र समुदायसँग सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो।
त्यसैगरी, मादक पदार्थको विक्री वितरण नियन्त्रण, कसलाई, कहाँ र कति मात्रामा विक्री गर्ने भन्ने विषयमा स्पष्ट नीतिगत तथा कानुनी व्यवस्था आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो। सहभागीहरुले स्थानीय तहले प्रभावकारी कानुनी संयन्त्र निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा पत्रकारलगायत सरोकारवाला पक्षको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरुले यस्ता अभिमुखीकरण कार्यक्रमले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्नुका साथै बालबालिकाको मानसिक स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
कमलामाई नगरपालिकाको संयोजनमा प्लान इन्टरन्यास्नलको सहयोगमा सिविन नेपालले आयोजना गरेको हो ।

