बैशाख १० गते २०८३, सिन्धुली — सुनकोशी गाउँपालिकामा माध्यमिक विद्यालयका शिक्षकहरुलाई लक्षित गरी बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका ४० जना शिक्षकहरुको सहभागिता रहनेछ।
कार्यक्रमको पहिलो दिन बालबालिका तथा किशोरावस्थामा देखिन सक्ने विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्याहरु, तिनको पहिचान तथा समाधानका लागि उपलब्ध संयन्त्रबारे जानकारी प्रदान गरिएको छ। साथै, आवश्यक परेमा ती संयन्त्रसम्म बालबालिकालाई पुर्याउन अपनाइने रिफरल प्रक्रियाबारे समेत छलफल गरिएको थियो।
अभिमुखीकरणका क्रममा विद्यालयमा बालबालिकामा देखिने विकाससम्बन्धी, आचरणसम्बन्धी तथा चिन्तासम्बन्धी विकारहरुको पहिचान र पहिचानपछि शिक्षकहरुले निर्वाह गर्न सक्ने भूमिकाबारे सहभागी शिक्षकहरुबीच अन्तरक्रियात्मक छलफल गरिएको थियो। यसले बालबालिकाको मानसिक स्वास्थ्य अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बालबालिकामा बढ्दो मदिरा प्रयोग तथा लागुऔषध दुव्र्यसनजस्ता समस्याहरुप्रति समेत ध्यानाकर्षण गराइएको थियो। सहभागीहरुले यस्ता चुनौतीको सामना गर्न शिक्षकहरुलाई मात्र नभई बालबालिका स्वयं, अभिभावक तथा गाउँपालिका पदाधिकारीहरुलाई समेत यस्तै प्रकारका तालिम आवश्यक रहेको उल्लेख गरेका छन्।

