बैशाख १७ गते २०८३, दोलखा ।


दोलखाको, विगु गाउँपालिकामा बाल संरक्षण र मदिरा न्यूनीकरणको विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मदिरा नियन्त्रण र बाल संरक्षणको क्षेत्रमा पालिकाको अवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको हो।

महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजना, ओसेलिप द्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, पालिकाभित्रका वडाका निर्वाचित प्रतिनिधिहरू तथा पालिकामा कार्यरत कर्मचारीहरू गरी ४२ जना सहभागी रहे ।

परियोजनाका शिक्षा तथा सामाजिक विकास अधिकृत विष्णु सुवेदीको अध्यक्षता र पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहनुभएको कार्यक्रममा आगामी वर्षका लागि बाल संरक्षण र मदिरा नियन्त्रणसम्बन्धी निर्धारण गरिएका कार्यक्रम तथा विनियोजित बजेटबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रममा वडा नं. ४ का वअध्यक्ष रामचन्द्र खड्का, वडा नं. ५ का अध्यक्ष कर्म शेर्पा, वडा नं. ६ का अध्यक्ष टहल बहादुर थामी र वडा नं. ८ का अध्यक्ष धनवीर थामी लगायतले मन्तव्य राख्दै परियोजनामार्फत भएका कामका उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो ।
कार्यक्रममा पालिका स्तरमा बाल संरक्षणका सवाल तथा मदिरा न्यूनीकरणसम्बन्धी विषयमा हालसम्मका उपलब्धि र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा समेत छलफल भएको सिविन नेपालका बाल संरक्षण अधिकृत सन्तोष विमलीले बताउनु भयो ।