बैशाख २१ गते २०८३, काठमाडौं। बालबालिकासँग सम्बन्धित प्रस्तावित संशोधन ऐनहरूबारे सरोकारवालाहरूबाट संकलित सुझावहरू महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढालाई हस्तान्तरण गरिएको छ।
नागरिक सहभागिता प्रवर्द्धन सञ्जाल, नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरू सिविन – नेपालले समेटी चार महले दस्तावेज तयार गरी सहसचिव बुढालाई बुझाएको हो। उक्त सुझावहरूमा बाल संरक्षण तथा सुरक्षा, बालबालिकामा अपाङ्गता, बाल बेचबिखन तथा ओसारपसार लगायतका विषयहरू समेटिएका छन्।
सुझाव ग्रहण गर्दै सहसचिव बुढाले बालबालिकासँग सम्बन्धित प्रस्तावित ऐनहरूलाई थप परिस्कृत बनाउने प्रयास भइरहेको उल्लेख गर्दै सिविन-नेपाल लगायत विभिन्न संस्थाहरूबाट प्राप्त सुझावहरू यस प्रक्रियामा महत्वपूर्ण सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

