बैशाख २३ गते २०८३, काठमाडौं।
टोखा नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालयका लागि “टोखा नगरपालिका विद्यालय बालसंरक्षण मापदण्ड, २०८२” लागू गर्ने भएको छ। उक्त मापदण्ड स्थानीय राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो।

नगरपालिकाका अनुसार, मापदण्डले विद्यालयभित्र बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत व्यवस्था तय गरेको छ। यसअन्तर्गत विद्यालयहरूले बालमैत्री वातावरण निर्माण, हिंसा, दुर्व्यवहार तथा शोषणका घटनाको रोकथाम, गुनासो व्यवस्थापन संयन्त्रको स्थापना तथा संवेदनशीलता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

सिविन नेपालले टोखा नगरपालिकाले बाल संरक्षणको क्षेत्रमा चालेको यस कदमको स्वागत गर्दै यसले विद्यालयहरूमा सुरक्षित र बालमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायहरूबीच सहकार्य र नियमित अनुगमन आवश्यक रहेको पनि जोड दिएको छ।