बैशाख २३ गते २०८३, काठमाडौं ।
काठमाडौंको लगनखेलस्थित मानसिक अस्पताल र सिविन–नेपालबीच किशोरकिशोरी मनोचिकित्सा तथा मानसिक स्वास्थ्य इकाईलाई थप संस्थागत र दिगो बनाउने उद्देश्यले २३ वैशाख २०८३ मा एक महत्वपूर्ण सम्झौता भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा सञ्चालित यस इकाईको सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी अब आगामी जेठ महिनादेखि मानसिक अस्पताल व्यवस्थापनले नै सम्हाल्ने भएको छ। यसअघि सिविन–नेपालमार्फत व्यवस्थापन हुँदै आएकोमा अबदेखि सिविनले इकाई सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग अस्पतालको बैंक खातामार्फत उपलब्ध गराउनेछ। मानसिक अस्पतालका निर्देशक डा. सुरज तिवारी र सिविन–नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईद्वारा हस्ताक्षरित यस सहमतिले इकाईलाई अस्पतालको नियमित संरचनाभित्र एकीकृत गरी सेवालाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

यस सहकार्यअन्तर्गत किशोरकिशोरीमैत्री मानसिक स्वास्थ्य सेवाको प्रवर्द्धन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा दुवै संस्थाले मिलेर कार्य गर्नेछन्। नेपाल सरकारको प्रचलित कानुन र मापदण्डअनुसार सञ्चालन हुने यस सेवामा बिरामीको गोपनीयता र गुणस्तरीय उपचारलाई विशेष प्राथमिकता दिइनेछ। वि.सं. २०८० देखि सुरु भएको यो साझेदारीले हाल मानसिक अस्पतालमा किशोरकिशोरीका लागि अन्तरंग तथा बहिरंग मानसिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै, फोरुट नर्वेको सहयोगमा कान्ति बाल अस्पतालमा १४ वर्षमुनिका बालबालिकाका लागि समेत यस्तै प्रकारको उपचार सेवा सञ्चालनमा रहेको छ, जसले नेपालमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यको क्षेत्रमा ठूलो टेवा पुर्‍याउँदै आएको छ।