स्वास्थ्यकर्मीहरूको मानसिक सुस्वास्थ्य र आत्महेरचाहलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा भक्तपुर अस्पतालमा नर्सहरूका लागि तनाव व्यवस्थापन तथा मानसिक सुस्वास्थ्य सम्बन्धी एक सत्र आयोजना गरिएको छ। कार्यक्रममा ६० जना नर्सहरूको सहभागिता रहेको थियो।
स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरू निरन्तर उच्च कार्यचाप, भावनात्मक तनाव तथा जिम्मेवारीपूर्ण वातावरणमा काम गर्ने भएकाले उनीहरूको मानसिक सुस्वास्थ्य र आत्महेरचाह अत्यन्त महत्वपूर्ण मानिन्छ। सोही आवश्यकतालाई मध्यनजर गर्दै आयोजित सत्रमा तनाव व्यवस्थापन, बर्नआउट, भावनात्मक थकान तथा तनाव कम गर्न सहयोग गर्ने व्यावहारिक अभ्यासहरूबारे छलफल गरिएको थियो।
सत्रमा सहभागीहरूले आफ्नो अनुभव साझा गर्नुका साथै दैनिक कार्यका क्रममा भोग्नुपरेका चुनौतीहरूबारे पनि छलफल गरेका थिए। कार्यक्रममा मानसिक सुस्वास्थ्यलाई प्राथमिकतामा राख्दै तनाव व्यवस्थापनका उपायहरू अपनाउनु स्वास्थ्यकर्मीहरूको व्यक्तिगत तथा व्यावसायिक जीवन दुवैका लागि आवश्यक रहेकोमा जोड दिइएको थियो।
यसअघि पनि सिविन–नेपालले भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरूका लागि यस्ता मानसिक सुस्वास्थ्य तथा तनाव व्यवस्थापन सम्बन्धी सत्रहरू सञ्चालन गर्दै आएको छ।

