विद्यालयस्तरीय मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

सिन्धुली । बालबालिकाको मानसिक स्वास्थ्य समस्या पहिचान, आवश्यक परामर्श तथा उपचार सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले CWIN-Nepal द्वारा विद्यालयस्तरीय मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन भइरहेको छ। Plan International को सहयोगमा सञ्चालन भइरहेको शिविर हाल कमलामाई नगरपालिका अन्तर्गतका विद्यालयहरूमा जारी रहेको छ।

यसैक्रममा आज श्री शंकरेश्वर माध्यमिक विद्यालयमा कक्षा ७, ८, ९, १० र ११ मा अध्ययनरत बालबालिकाहरूका लागि मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन भइरहेको छ। शिविरमार्फत आसपास क्षेत्रका करिब १५० जना बालबालिकासम्म सेवा पुर्‍याउने लक्ष्य राखिएको छ।

हिजो जनता माध्यमिक विद्यालय मा कक्षा ७, ८, ९, १० र ११ मा अध्ययनरत बालबालिकाहरूका लागि सञ्चालन गरिएको शिविरमा १६८ जना बालबालिकाको मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये ४४ जनाको विस्तृत मूल्यांकन गरी आवश्यक मानसिक स्वास्थ्य उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो। आवश्यक परेका बालबालिकाहरूलाई स्थानीय स्वास्थ्य चौकीमा रिफर गरिएको तथा विद्यालय स्वास्थ्य नर्समार्फत निरन्तर फलो–अपको व्यवस्था गरिएको छ।

यसअघि गएको सोमबार सिन्धुलीको मरिण गाउँपालिकाको श्री सेकेन्डरी विद्यालयमा पनि यस्तै मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा १४९ जना बालबालिकाको मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो भने ५२ जनाको विस्तृत मूल्यांकन गरी आवश्यक उपचार तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो।

शिविरका क्रममा सबै विद्यार्थीहरूलाई स्क्रीनिङ प्रश्नावली वितरण गरी मानसिक स्वास्थ्य अवस्थाको प्रारम्भिक पहिचान गरिएको थियो। साथै स्थानीय अस्पतालबाट रिफर भई आएका बिरामीहरूको समेत मूल्यांकन गरी आवश्यक मनोसामाजिक सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। सेवाको निरन्तरताका लागि विद्यालयका प्रधानाध्यापक, विद्यालय स्वास्थ्य नर्स तथा सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल तथा समन्वयसमेत गरिएको थियो।

CWIN-Nepal ले कमलामाई नगरपालिका पछि सुनकोशी गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा पनि मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन गर्ने योजना लिएको छ ।