सिन्धुली । बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवर्द्धनको उद्देश्यले सञ्चालन गरिएको “मानसिक स्वास्थ्य परियोजना” सम्पन्न भएको छ। परियोजना समापन समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले गाउँपालिकामा बालबालिकाको मानसिक स्वास्थ्यका विषयमा अत्यन्त कम काम भइरहेको अवस्थामा परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा सचेतना, संवाद र सहयोग प्रणाली विस्तार गर्न परियोजनाले सहयोग गरेको उल्लेख गर्नुभयो। गाउँपालिकाको समग्र विकासमा समेत यस परियोजनाले सकारात्मक योगदान पुर्‍याएको उहाँको भनाइ थियो।

कार्यक्रममा बिमला माझी लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीय बालक्लबका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।

बालबालिका तथा किशोरावस्थाका व्यक्तिहरूलाई आफ्नो मानसिक स्वास्थ्य व्यवस्थापन गर्न आवश्यक ज्ञान र सीपमार्फत सशक्त बनाउने तथा आवश्यकता परेको बेला सहयोग प्रणालीमा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ परियोजना सञ्चालन गरिएको थियो। परियोजना अन्तर्गत विद्यालय शिक्षक, नर्स, अभिभावक, स्थानीय जनप्रतिनिधि लगायतलाई बालबालिकाको मानसिक स्वास्थ्य अवस्था तथा उपलब्ध सेवाहरूका बारेमा अभिमुखीकरण गरिएको थियो।

यसैक्रममा मारिण क्षेत्रका विद्यालयका १५० जना विद्यार्थीको मानसिक स्वास्थ्य परीक्षण समेत गरिएको थियो।

CWIN- Nepal ले यो परियोजना Plan International को सहयोग तथा सम्बन्धित स्थानीय तहहरूको समन्वयमा सिन्धुलीका मारिण गाउँपालिका, कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका मा सञ्चालन गरिएको थियो।