जेठ १२ गते २०८३, सिन्धुली ।

बालबालिकाको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुलीको कमलामाईमा सञ्चालन गरिएको मानसिक स्वास्थ्य परियोजनाको समापन कार्यक्रमका क्रममा स्थानीय जनप्रतिनिधिहरुले कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखेका छन्। उनीहरुले बालबालिकामा बढ्दो मानसिक तनाव, व्यवहारिक समस्या तथा मनोसामाजिक चुनौतीलाई सम्बोधन गर्न स्थानीय तह, विद्यालय तथा समुदायस्तरमा दीर्घकालीन सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

समापन कार्यक्रममा सहभागी बालबालिका, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय स्वास्थ्य स्वयंसेवक, विद्यालय नर्स लगायतलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो। कार्यक्रममा परियोजनाअन्तर्गत पालिकामा सञ्चालन गरिएका विभिन्न गतिविधिहरु प्रभावकारी तथा उपलब्धिमूलक रहेको सहभागीहरुले बताएका थिए।

कार्यक्रम समापनका अवसरमा बोल्दै सिविन-नेपालका महासचिव प्रा डा गोविन्द सुबेदीले परियोजनालाई सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि बालबालिकाको मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सहकार्यलाई अझ सुदृढ बनाइने बताएका थिए।

परियोजना प्लान इन्टरन्यासनलसंगको सहकार्यमा सिविन-नेपालले सिन्धुलीको मरिण गाउँपालिका, कमलामाई नगरपालिका, र सुनकोशी गाउँपालिकामा संचालन गरेको हो ।