टोखा नगरपालिकामा आर्थिक वर्ष २०८३/८४ का लागि बालबालिकासँग सम्बन्धित कार्यक्रम तथा बजेटका प्राथमिकता निर्धारण गर्दै नगरस्तरीय बाल भेला सम्पन्न भएको छ। भेलामा नगरका ११ वटै बाल क्लब संजालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सिविन- नेपालको सहकार्यमा भएको भेलामा बालबालिकाले आगामी आर्थिक वर्षका लागि आफ्ना प्राथमिक विषयहरू पहिचान गर्दै ती विषय सम्बोधन गर्न आवश्यक कार्यक्रम तथा योजनाहरू छनोट गरेका थिए। बालबालिकाद्वारा तयार पारिएका योजना तथा सुझावहरू उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई तथा कार्यपालिका सदस्यसहितको टोलीलाई हस्तान्तरण गरिएको थियो।

बालबालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिन माग गरेका छन्। साथै विद्यालयमा हुने शारीरिक दण्ड सजाय (कर्पोरल पनिस्मेन्ट) अन्त्य गरी भयमुक्त सिकाइ वातावरण निर्माण, शिक्षकहरूका लागि बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी तालिम, अभिभावक शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) सम्बन्धी सचेतना, तथा अनलाइनमार्फत हुने हिंसा र दुर्व्यवहारबाट सुरक्षित रहने विषयमा बालबालिकामुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

योजना तथा सुझाव ग्रहण गर्दै उपप्रमुख तामाङले बालबालिकाका आवाज र आवश्यकतालाई नगरपालिकाको योजना तथा बजेट प्रक्रियामा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले टोखा नगरपालिकालाई आगामी मङ्सिर १६ गतेभित्र बालमैत्री स्थानीय शासनयुक्त पालिकाका रूपमा घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिँदै बालबालिकाको यस पहलले उक्त अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यसअघि सिविन नेपालले टोखा नगरपालिकासँगको सहकार्यमा नगरभित्रका सबै निजी तथा सामुदायिक विद्यालयहरूमा विद्यालय बाल संरक्षण मापदण्ड तर्जुमा तथा कार्यान्वयनका लागि प्राविधिक सहयोग प्रदान गरेको थियो। बाल हेल्पलाइन नेपाल १०९८ का व्यवस्थापक सागर भण्डारीका अनुसार हाल नगरका सबै निजी तथा सामुदायिक विद्यालयहरूमा विद्यालय बाल संरक्षण मापदण्ड कार्यान्वयनमा आइसकेको छ।

त्यसैगरी, नगरका सबै ११ वटै वडामा बाल क्लब गठन भइसकेका छन् भने ती क्लबहरूको वडा स्तरीय भेला समेत सम्पन्न भइसकेको छ। बाल अधिकार प्रवर्द्धन, बाल सहभागिता सुदृढीकरण तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न पहलहरूलाई निरन्तरता दिँदै आएको छ।

टोखा नगरपालिकाले मङ्सिर महिनाभित्र नगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिकाका रूपमा घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ।