काठमाडौं, असार १६, २०८३
बालबालिकासँग सम्बन्धित विभिन्न नीति, रणनीति तथा कार्यान्वयन कार्ययोजना, तथा कार्यविधिहरुमा सरोकारवालाहरुले, कार्यान्वयन र यसमा सरोकारवालाको भूमिका कस्तो भनेर छलफल गरेका छन् ।
राष्ट्रिय बालबालिका नीति, २०८० कार्यान्वयनको राष्ट्रिय कार्ययोजना, बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ तथा बालबालिका उत्तरदायी बजेट संकेत (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा सातै प्रदेशका सामाजिक विकास मन्त्रालय÷शाखाका प्रतिनिधि, विभिन्न मन्त्रालयका प्रतिनिधि, विकास साझेदार संस्था तथा नागरिक समाज संघ–संस्थाका प्रतिनिधिहरूबीच राष्ट्रिय परामर्श गोष्ठीमा छलफल भएका हुन् ।
सिविन नेपालसँगको सहकार्यमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको दुईदिने गोष्ठीको पहिलो दिन राष्ट्रिय बालबालिका नीति, २०८० कार्यान्वयनको राष्ट्रिय कार्ययोजनामाथि मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणपछि सहभागीहरूबीच कार्ययोजनाको प्रभावकारी कार्यान्वयन, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा कार्यान्वयनका चुनौती र सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।
त्यसैगरी, मन्त्रालयका उपसचिव दुर्गा प्रसाद चालिसेले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणपछि बाल विवाह न्यूनीकरणका लागि प्रदेश तथा स्थानीय तहको भूमिका, बहुपक्षीय समन्वय, समुदायस्तरमा गर्नुपर्ने पहल तथा कार्यान्वयनका प्राथमिकताका विषयमा सहभागीहरूले आफ्ना सुझाव तथा अनुभव आदानप्रदान गरेका थिए।

गोष्ठीमा सहभागीहरूले प्रदेशस्तरमा नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहकार्य, स्रोत व्यवस्थापन, नियमित अनुगमन तथा सबै तहका सरोकारवालाबीच समन्वयलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।

दुई दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा दोस्रो दिन बालबालिका उत्तरदायी बजेट संकेत (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२, कार्ययोजना निर्माण तथा जिम्मेवारी बाँडफाँड सम्बन्धी विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।