
२६ चैत, काठ्माडौं ।
काठ्माडौं बाहिरका क्षेत्रमा सडक बालबालिकाको अवस्था जान्न निस्केको निरिक्षण टोलीले भक्तपुर, धुलिखेल, बनेपा र पनौतीमा बालबालिका जोखिमपूर्ण श्रममा खटिरहेको भेट्टाएका छन् । बालबालिकासँग काम गर्ने ब्यक्तिहरुको फोरम, SFWF को अगुवाईमा गएको टोलीमा CWIN Nepal सँगै APC-Nepal, CWCN, CPCS, Khusi-Nepal को संयुक्त टोलीले धुलिखेल बसपार्कमा १५ बर्ष मुनिका १५ बालक खलासी काम गरिरहेको र बनेपामा एक बालिका कवाडीको सामान बोक्ने काम गरिरहेको भेट्टाएको हो ।
टोलीका सदस्य बिमला तिवारीका अनुसार,बनेपा, धुलिखेल लगायतका क्षेत्रमा धेरै सडक बालबालिका रहेको र उनीहरुमा गम सुँघ्नेको संख्या धेरै भएको भन्ने सूचनाको आधारमा टोली, यी क्षेत्रको भ्रमणमा गएको हो ।
काठ्माडौंका सडक बालबालिकालाई खोजी खोजी समाजमा पुनस्र्थापना गर्न थालेपछि बालबालिका आसपासका क्षेत्रमा सरेका हुन कि भन्ने शंकाको आधारमा टोलीले निरिक्षण भ्रमण गरेको हो ।
बनेपाको सामुदायिक सेवा केन्द्रका अनुसार निरिक्षण टोलीले भेटेभन्दा निक्कै धेरै संख्यामा सडक बालबालिका छन् ।
सडकमा भेटिएका बालबालिकालाई बाल हेल्पलाइनको नम्बर १०९८, केन्द्रिय बालकल्याण समिति, प्रहरीको खोजतलास केन्द्रको नम्बर १०४ बारे जानकारी दिएको टोली सदस्य तिवारीले जानकारी दिनुभयो । सँगै ती क्षेत्रका प्रहरी, सामुदायिक केन्द्र लगायतलाई सडक बालबालिका बारेको केन्द्रिय बालकल्याण समितिको निर्देशिका बारे पनि जानकारी गराइएको थियो ।