सार्वजनिक यातायातलाई बालश्रममुक्त बनाउने क्रममा, राजधानीका विभिन्न स्थानबाट ४७ बालक सहचालकको उद्धार गरिएको छ ।
बालश्रममुक्त सार्वजनिक यातायात अभियानको ५ दिनमा विभिन्न स्थानबाट ४७ सहचालक बालबालिकाको उद्धार गरिएको हो ।
श्रम कार्यालय बाग्मती, केन्द्रीय बाल कल्याण समिति र बालअधिकार संरक्षणको क्षेत्रमा काम गरिरहेका संघसंस्था, प्रहरी र मनोपरामर्शदाता सम्मिलित टोलीले अभियानको पहिलो दिन रत्नपार्कबाट १४, दोश्रो दिन कोटेश्वरबाट १८, तेश्रो दिन लगनखेलबाट ६ र चौथौं दिनमा स्वयम्भूबाट १२ सहचालकहरुको उद्धार गरिएको हो । बालक सहचालक राख्ने सवारीचालकलाई भने श्रम कार्यालयमा हाजिर हुन पुर्जी काटिएको छ ।

यसक्रममा, माइक्रो बस, मिनीबस, ठूलो बस, टेम्पोलगायतका सवारी साधनको अनुगमन गरिएको हो । यही क्रममा, सवारीसाधनमा चेतनामुलक स्टीकर समेत टाँसिएको छ ।
उद्धार गरिएका बालकको पारिवारिक पुनर्मिलन गराउने अहिलेको पहिलो प्राथमिकता रहेको श्रम कार्यालय बागमतीका प्रमुख उदय कुमार गुप्ताले जानकारी दिनुभएको छ ।
बालश्रम ( निषेध र नियमित गर्ने) ऐन २०५६ मा बालबालिका श्रमिकको रुपमा काममा लगाएमा एक बर्ष कैद वा ५०,००० रुपैंया जरिवान वा दुबै सजाय हुने ब्यवस्था छ ।