नेपालमा संचालित बालहेल्पलाइन सेवालाई अझ प्रभावकारी बनाउने विषयमा अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । हेल्पलाइन सेवामा प्रत्यक्ष संलग्न ब्यक्तिको क्षमता बढाउन केन्द्रीय बाल कल्याण समितिले गएको जेठ २० र २१ गते कार्यक्रमको आयोजना गरेको हो । बाल संरक्षण प्रणालीको मजबुत संयन्त्रको रुपमा रहेको बाल हेल्पलाइन सेवाको प्रभावकारिता बढाउने कार्यक्रमको मुख्य उद्देश्य हो ।

बाल हेल्पलाइन १०९८ परियोजनासम्बन्धि अनुशिक्षण कार्यक्रम तथा घटना ब्यवस्थापन र मनोसामाजिक परामर्श विषयक क्षमता अभिबृद्धि तालिम कार्यक्रममा नेपालमा हेल्पलाइन सेवा संचालनमा रहेका ११ जिल्लाका सहभागी थिए । नेपालमा अहिले बाँके, कास्की, धनगढी, चितवन, दैलेख, सुर्खेत, उदयपुर, सुनसरी र बाजुरामा हेल्पलाइन सेवा संचालनमा छन् ।

नेपालमा बाल हेल्पलाइन सेवा, नेपाल सरकारको तर्फबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय केन्द्रीय बाल कल्याण समिति, नेपाल दूरसंचार प्राधिकरण र सिविन नेपाललगायत बाल अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाको संयुक्त कार्यक्रमको रुपमा संचालित छ ।