मितिः २८ भाद्र २०७८
प्रेस विज्ञप्ति,
सन्दर्भः ५७औं राष्ट्रिय बाल दिवस २०७८
बालबालिकालाई कोभिड–१९ को असरबाट जोगाऔं ।
‘सामान्य अवस्था वा कोभिड माहामारी ः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ मुलुकभर ५७ औ राष्ट्रिय बालदिवस मनाइँदैछ । यससन्दर्भमा सर्वप्रथम सिविन–नेपालका तर्फबाट सम्पूर्ण नेपाली बालबालिकाहरूको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दछौं ।
कोभिड–१९ माहामारी र यसले सिर्जना गरेको विषम परिस्थितिका कारण यसपालिको राष्ट्रिय बाल दिवस पनि खुल्ला र उल्लासमय वातावरणमा मनाउन सकिएको छैन । यद्यपि हामी सबै आ–आफ्नो स्थानमा बालबालिकासँगै रहेर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छौं ।
यतिबेर सबैजसो बालबालिकाहरू विद्यालय जान नपाएर घरघरमा बाध्य भएर रहनु परेको छ । सरकारले यहि असोज एक गतेदेखि स्वास्थ्य मापदण्ड अपनाइ विद्यालय खोल्ने मनसाय राखेको अवस्थामा कोभिडको तेस्रो लहर र यसले बालबालिका माथि पर्ने खराब असरका बारेमा विज्ञहरूको भनाइलाई ध्यान राख्नका लागि हामी स्थानीय सरकारलाई विशेष आह्वान गर्दछौं । अहिलेको पहिलो आवश्यकता भनेको बालबालिकालाई कोभिड–१९ बाट सुरक्षित राख्न यस विरुद्धको खोप उपलब्ध गराउनु रहेको तर्फ हामी सरकारलाई सचेत गराउँदछौं ।
राष्ट्रिय बाल दिवसका अवसरमा कोरोना कहरबीच बालबालिकाको अवस्थाका बारेमा समीक्षा गरिरहँदा बालसंरक्षणका दृष्टिकोणले बालबालिकाको अवस्था झन् झन् खस्किएको पाइन्छ । कोभिडजन्य लकडाउनका कारण रोजगारी गुमाएका परिवारका बालबालिकाको अवस्था दयनीय बन्दै गएको छ । हिंसामा परेका बालबालिकाहरूको न्यायमा पहुँच पुग्न सकिरहेको छैन । बैकल्पिक शिक्षाका रूपमा आम बन्दै गएको अनलाइन कक्षाबाट इन्टरनेट पहुँच हुने र नहुने बालबालिकाबीचको विभेद बढिरहेको तथ्यहरूले पुष्टि गरेका छन् । अनलाइनमा पहुँच हुने बालबालिकाहरू समेत अनलाइन यौन दुव्र्यवहारमा पर्न थालेको र यसले जटिलताहरू थपिँदै गएको अध्ययनहरूले देखाएका छन् ।
२०२१ को पहिलो ६ महिना (जनवरी–जुन) भित्रको सिविनद्वारा सञ्चालित बालहेल्पलाइनहरूको तथ्यांकलाई हेर्दा बाल विवाह, घरेलु हिंसा, बाल यौन दुव्र्यवहार, बाल श्रमशोषण, अनलाइन दुव्र्यवहार लगायतका बालअधिकार विरोधी २०६३ वटा घटनाहरू बालहेल्पलाइनमा दर्ता भएका र उनीहरूले आवश्यक सहयोग पाएका थिए । यसमा बाल विवाहका ९४ वटा घटनाहरू, यौन दुव्र्यवहारका ७० वटा घटनाहरू, ओसारपसारका ५ वटा घटनाहरू, बालश्रम शोषणका ३५ वटा घटनाहरू रहेका थिए । यो तथ्यांक कोरोना नभएको सामान्य अवस्थाकोभन्दा धेरै बढी हो ।
नेपाल सरकार तथा सिविन–नेपाल लगायतका नागरिक समाजका संघसंगठनहरूले बाल संरक्षणका लागि जारी राखेको प्रयासलाई अझ सबल बनाउनु पर्ने आवश्यकतालाई मनन् गर्दै बाल हेल्पलाइन १०९८ जस्ता बाल संरक्षणका संरचनाहरूलाई थप सुदृढ बनाउने, अनलाइन लगायत बालबालिकाको सिकाइ र संरक्षणका सवालमा अभिभावक शिक्षामा जोड दिने, बालबालिकालाई यथासिघ्र खोपको व्यवस्था गर्ने र शिक्षक विद्यार्थी सम्बन्धलाई विद्यालयबाट घर र टोलसम्म विस्तार गर्ने जस्ता काम गर्न हामी सरकारका सम्बन्धित निकायहरूको ध्यान आकृष्ठ गर्दछौं ।
सधन्यवाद ।
कुमार भट्टराई
प्रवक्ता

