भदौ ९ गते २०७९, काठ्माडौं ।
बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्य समस्या बारे किशोरकिशोरीहरुलाई अनलाइन प्ल्याटफर्म मार्फत भदौको दोश्रो साता दुई दिने तालिम दिइएको छ । कान्ति बाल अस्पताल, बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागका निर्देशक डा जास्मिन माले किशोरकिशोरीलाई दुई दिने तालिम दिनुभएको हो । तालिम लिएका किशोरकिशोरीले आफ्ना समकक्षी, आफ्नो घरपरिवारमा रहेका अरु बालबालिका र किशोरकिशोरी र आफूमै पनि कुनै मानसिक स्वास्थ्य समस्याको पहिचान गर्न सक्ने र अरुलाई पनि सिकाउन सक्ने छन् भन्ने उद्देश्यका साथ तालिम दिइएको हो । तालिममा बालबालिकामा हुने मानसिक स्वास्थ्य समस्याबारे जानकारी लिन फोन गर्दा पैसा नलाग्ने फोन नम्बर १६६००१ १०६६६ बारे समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।
यसैगरी, एस् ओ एस् बालग्राम सानो थिमीका बालबालिकामा मानसिक स्वास्थ्य समस्याको पहिचानका लागि विशेष शिविरको आयोजना गरिएको छ । नेपालमा विद्यालय जाने उमेरका धेरै बालबालिकामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या रहेको विभिन्न अध्ययनले देखाएको छ । आफ्नो विद्यावारिधिकालागि गर्नुभएको अध्ययनको क्रममा पनि निक्कै धेरै बालबालिकामा कुनै न कुनै खाले मानसिक स्वास्थ्य समस्या देखिएको डा माले जानकारी दिनुभएको छ । आफ्नो अध्ययनको नतिजा छिट्टै सार्वजनिक गर्ने भन्दै डा माले बालबालिकामा हुने मानसिक स्वास्थ्य समस्या तत्काल समाधान गर्न सकिने बारे प्रचारप्रसारमा जोड दिनुपर्ने विचार राख्नु भयो ।


