असार ८ गते २०८२, काठ्माडौं ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले बालबालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि विषयवस्तु पालिकाको आगामी नीति तथा कार्यक्रममा समेट्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिविन-नेपालसँगको अन्तरक्रियाको क्रममा बालबालिकाको अधिकार स्थापनाका साथै यौन तथा प्रजनन् स्वास्थ्य शिक्षालगायतको विषयमा पालिकाले नागरिक समाज संघसंस्थासँग सहकार्य गर्दै अघिबढ्ने प्रतिवद्धता जनाउनु भएको हो । सँगै नगरपालिकाको विकास र भएका सामाजिक समस्या र चुनौतीसँग जुझ्न पालिकाले नागरिक समाज संघसंस्थासँग सहकार्य गर्दै आएको उपप्रमुख श्रेष्ठले स्मरण गर्नुभयो । सिविन नेपालले बालबालिकाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे बालबालिकालाई सचेत र जानकार बनाउन चन्द्रागिरि नगरपालिकामा सुफासेक परियोजना संचालन गर्दै आएको छ । परियोजना अन्तर्गत सिविन-नेपालले चन्द्रागिरि, सिद्धार्थनगर, तिलोत्तमा र नेपालगञ्जका २० किशोरकिशोरीलाई दौतरी शिक्षकका रुपमा तालिम दिएर अहिले विभिन्न विद्यालयहरुमा ज्ञान हस्तान्तरणका लागि सहयोग गरिरहेको छ । सिविन-नेपालसँगको सहकार्यमा सुफासेक अन्तर्गत भावी कार्यक्रम तथा योजनाको विषयमा अन्तरक्रिया संचालन गरिएको हो। कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठसँगै जनप्रतिनिधि र पालिकाका कर्मचारीको उपस्थिति रहेको थियो ।

