
गैंडाकोट -१ , नवलपुर
आमा,
म डराइरहेको छु
यो अँध्यारो पिंजडामा तिमीबाट टाढा हुन चाहन्न
म त तिम्रो न्यानो काखको स्पर्शमा रम्न चाहन्छु।
विन्ती छ, मलाई तिम्रो अमुल्य साथ र प्रेमको सागरमा निर्धक्क साथ डुब्न देऊ।
बुबा,
मेरो शरीर अझै दुख्दै छ
विहान उठी त्यो विरानो ठाउँमा बन्धक बनी काम गर्ने मनै छैन
म त तिमीसगँ चकचके भई जिस्किदै चल्दै आफ्नो बालपन खुलेर रम्न चाहन्छु
विन्ती छ मलाई मेरो बालपनको रमाइलो र अनमोल क्षणहरु एक एक गरी सँगाल्न देऊ।
दाजु,
म दिनरात रुदै कराउँदै छु
ईंट्टा भट्टाबाट निस्केको त्यो कालो धुँवा जस्तै
मेरो भविष्य कदापी कालो बनाउन चाहन्न
म त तिमीजस्तै कपी किताब लिइ स्कुल गई धेरै पढ्न चाहन्छु
विन्ती छ मलाई स्कुलको त्यो उज्यालोसँगै सपना र लक्ष्यको खुला आकाशमा उड्न देऊ।
समाज,
म यो एक्लोपनको भावसँगै आत्तिएको छु
छिछि, दुरदुर अनि हेपाइको तुच्छ सोचको सिकार बन्न चाहन्न
म त ती मजस्तै लाखौं बालबालिका साथी बनाइ हास्न, खेल्न अनि यी पीडा साटासाट गर्न चाहन्छु
विन्ती छ मलाई ती तिखा वाणीका शब्दभन्दा धेरै परको समान वातवरणमा बस्न देऊ।
सरकार,
म सधैं तिम्रो पर्खाइमा बस्दा बस्दै थाकिसकेको छु
ती हजारौं मानिस बिचको तिम्रो चर्को भाषणले मलाई सुत्न नदिएको लामखुट्टेको झल्को बाहेक केही दिएको छैन।
मलाई ठुला महल, ठुला ठुला वस्तु चाहिएकै छैन, मात्र
सक्छौ भने, भोक निद्राले छट्पटाएको मलाई शान्त निद्रा,
भोक मेटाउने खाना अनि
मेरो फोरा उठेका यो कोमल हातमा मलमसँगै किताब देउ
तर
विन्ती छ मलाई त्यो आशा र विश्वासको जालझेल र षड्यन्त्रको भुमरीमा नफसाऊ।

