जेठ २८ गते २०८०, काठ्माडौं
“सबैका लागि सामाजिक न्याय, बालश्रमको अन्त्य गरौं” भन्ने मुल नाराका साथ बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवस आज विश्वभर मनाइँदैछ । विश्वभर सन् २००० नै देखि श्रममा लाग्ने बालबालिकाको संख्यामा कमि आएको पाइन्छ । तर पछिल्ला केही बर्षहरुमा भने कोभिड १९ को महामारी र अरु किसिमका मानव सिर्जित विपत्तिका कारण विश्वमै गरीबी बढ्दै गएको सन्दर्भमा श्रममा लाग्ने बालबालिकाको संख्यामा पनि बढोत्तरी भएको पाइएको छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि, बालहेल्पलाइनमा दर्ता भएका मुद्दाको आधारमा सन् २०१७ देखि नै बालश्रमिकको संख्या घट्दो क्रममा छ । तर कोभिड १९ मा भएको बन्दाबन्दीको क्रममा श्रममा लागेका बालबालिका जम्माजम्मी ५४ देखिए पनि, आर्थिक गतिविधि शुरुभए सँगै यो संख्या विस्तारै बढ्दै गएको पाइन्छ । गएको बर्ष बालश्रमसँग सम्बन्धित ९१ घटना बाल हेल्पलाइन नेपाल १०९८ मा दर्ता भएको थियो । यो बर्ष भने अहिलेसम्मका ६ महिनामा बालश्रमका ३४ मुद्दा दर्ता भइसकेका छन् । लैंगिक हिसाबले हेर्दा पनि २०२२ मा दर्ता भएका ९१ मुद्दामा बालक ५५ र बालिका ३६ जना देखिएका थिए भने यो बर्षको बाल श्रममा आधारित मुद्दा हेर्ने हो भने २१ जना बालक र १३ जना बालिका श्रममा लागेको पाइएको छ ।
विश्वभर नै अहिले १६ करोड भन्दा बढी बालबालिका विभिन्न खाले श्रममा लागेको देखिन्छ । यसमध्ये अफ्रिका महादेशमा सबैभन्दा बढी बालबालिका श्रममा लागेको पाइएको छ । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार अफ्रिका र एसिया प्रशान्त क्षेत्रमा मात्रै विश्वका १० मध्येका ९ बालबालिका श्रममा लाग्न बाध्य छन् । कम आयश्रोत भएका मुलुकका बालबालिका बढी संख्यामा बाश्रममा लागेको भेटिएपनि मध्य आय भएका मुलुकमा बालबालिका बढी श्रमिक रहेको राष्ट्र संघले जनाएको छ ।
यसपालिको दिवसले बालश्रम अन्त्यको सन्दर्भमा सामाजिक न्यायको विषय उठाएको छ । हुन पनि नेपालको संविधानले प्रत्येक बालबालिकाको स्वास्थ्य, शिक्षा, संरक्षणको अधिकार सुनिश्चित गरेको छ । तर पनि गरिबी, अभाव, पारिवारिक कलह, परिवारको वेवास्ता जस्ता अवस्थाले नेपालमा बालबालिका श्रममा लागेको पाइन्छ । तर विगतका विश्वव्यापि अनुभवले पनि देखाएको छ कि बालबालिका श्रममा लाग्न बाध्य बनाउने कारकहरुमा काम गर्न सकियो भने मात्रै बालश्रम अन्त्य गर्ने तर्फ उपलब्धी हासिल गर्न सकिन्छ । यसपालिको नाराले पनि सामाजिक न्यायमा काम गर्दाको एउटा ठूलो उपलब्धीका रुपमा बालश्रमको अन्त्यमा बलियो योगदान हुने तर्फ इंगित गरेको छ ।