काठमाडौँ, जेठ ६ गते, २०७६ ।

अन्तराष्टिय बालहेल्पलाइन दिवसको अवसरमा सिविन नेपालले एक कार्यक्रमबीच बाल हेल्पलाइन नेपाल १०९८ मोवाइल एप सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं प्रमुख अतिथि थममाया थापाले औपचारिक रुपमा एप सार्वजनिक गर्नुभएको हो ।
जोखिममा रहेका बालबालिकाका आफै वा अरु कसैले एपको सहायताले हेल्पलाइनमा उजुरी गर्न सकिने गरी एपको निर्माण गरिएको हो । एपमा बालबालिकाको सुरक्षासँग सम्बन्धित जानकारीहरु पनि समेटिएका छन् ।

एप सार्वजनिक गर्दै मन्त्री थपमाया थापाले, नेपालको संविधान तथा राष्ट्रसंघीय बालअधिकार महासन्धि लगायतका बालबालिकासंग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिवद्धताका मर्म र भावना अनुसार बालबालिकासम्बन्धी ऐन २०७५ तयार भैसकेको र यस सम्बन्धी नियमावली तयारीको क्रममा रहेको उल्लेख गर्नु भयो । सँगै नेपाल सरकार, सरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजका संघसंस्थाको साझेदारीको सुन्दर र सफल नमूनाका रूपमा विकास भएको बाल हेल्पलाइन १०९८ लाई सम्पूर्ण नेपाली बालबालिकाको पहुँचमा पुग्ने गरी थप विस्तार र सवलीकरणका लागि नेपाल सरकारको ध्यान केन्द्रित भएको पनि उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी बाल प्रतिनिधि सुश्री सुस्मिता चापागाईले बालबालिका २४ घण्टा नै जोखिम वा विपदमा पर्न सक्ने हुँदा बाल हेल्पलाइनले ७७ जिल्लाकै बालबालिकालाई सहयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने विचार राख्नु भयो ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक कृष्ण प्रसाद भुषालले सरकारले बाल हेल्पालइन सेवालाई प्रभावकारी किसिमले सञ्चालन गर्नका लागि नागरिक समुदायका संघ–सस्थासंग सहकार्य गर्दै यसलाई विस्तार गर्न लागि परेको उल्लेख गर्नु भयो ।

नेपाल प्रहरी, महिला, बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरिक्षक हरिभक्त प्रजापतीले समस्यामा रहेका बालबालिकाका लागि बाल हेल्पलाइनसंग समन्वय गर्दै अगाडी बढीरहेको स्पष्ट पार्नु भयो ।

सिविन–नेपालले सन् १९९८ मा सुरुवात गरेको यो सेवालाई सरकारले ग्रहण गर्दै बालअधिकारको क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका संस्थाहरुको सहकार्यमा मुलुकका १२ जिल्लामा यो सेवालाई सञ्चालन गरिएको छ ।

यो एप प्लेस्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने बाल हेल्पलाइनले जनाएको छ ।