फागुन १ गते २०७६, मकवानपुर

बकैया र भीमफेदी गाउँपालिकामा दुई बालविवाह बदर गरिएको छ । भीमफेदी गाउँपालिकामा, सिविन नेपालको पहलमा गाउँपालिकाका अपाध्यक्ष पार्वती राना र वडा प्रहरी कार्यालय भीमफेदीको समन्वयमा १६ बर्षिय किशोर र १३ बर्षिय किशोरीबीचको बालविवाह बदर गरिएको हो । विवाह बदर गर्नुअघि सिविन नेपालका प्रतिनिधि, वडाका प्रतिनिधिलगायतको टोलीले सम्बन्धित किशोरकिशोरीको अभिभावकहरुसँग छलफल गरेको थियो । दुबै परिवारले आफप्ना छोराछोरी पढि नै रहेकाले उनीहरुको पढाईलाई निरन्तरता दिने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।
विवाह बदर भएलगतै, अभिभावकको सहमतिमा गाउँपालिकाको सिफारिसमा परामर्शका लागि बालहेल्पलाइन मकवानपुर पठाइएको, हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
यसैगरी, बकैयाका १७ बर्षिय किशोर र हेटौंडाका १३ बर्षिया किशोरीबीच भएको प्रेम विवाह पनि उमेरकै कारण बदर गरिएको छ । वकैया वडा ७ का अध्यक्ष रामकाजी लामिछानेको नेतृत्वमा किशोरकिशोरीका परिवारसँग छलफल गरी विवाह बदर गरिएको हो । किशोरीलाई अभिभावकको सहमति र उपमहानगरपालिकाको सिफारिसमा केही दिनका लागि बालहेल्पलाइनमा परामर्शका लागि पठाइएको छ भने किशोरलाई परिवारको जिम्मा लगाइएको छ ।