माघ १० गते २०७८, काठ्माडौं

सडकमा आश्रित बालबालिका, किशोरकिशोरी र युवालाई कोभिड १९ विरुद्धको खोप दिलाउने विषयमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा सरकारी निकायलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् । सडकबालबालिकाको अधिकार, सुरक्षा र संरक्षणको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले अनलाइन बैठक बसी, सडकमा आश्रित बालबालिका र किशोरकिशोरीको खोपको लागि सरकारलाई घच्घचाउने निर्णय गरेको हो । कोभिड १९ विरुद्धको खोप लिन जन्मखुल्ने प्रमाणपत्रलाई सरकारले अनिवार्य गरेपछि सडकमा आश्रित बालबालिका र किशोरकिशोरीले खोप लिन नपाएको सन्दर्भमा विभिन्न संघसंस्थाले चिन्ता पोख्दै अनलाइन बैठक बसेको हो । सडकमा आश्रित धेरैजनाको जन्मदर्ता नभएको, नागरिकता नभएको कारण कोभिड १९ विरुद्धको खोप लिन नपाएको हो । सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा सडक बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु बाल हेल्पलाइन नेपाल, साथ साथ, बाल हेल्पलाइन नेपाल, CWSN Pokhara, SOBER, CWCN, Welcome To My Yard, VOC, APC, CPCS, Secured Future Nepal, माइती नेपालको सहभागिता रहेको थियो ।
यसअघि माघ १० गते, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले रत्नपार्क, बालाजु, तिलगंगा, पशुपति, चमेरो गुफा, दरवार मार्गलगायतका क्षेत्रका सडकमा आश्रित खोप लगाउन योग्य बालबालिकाको तथ्यांक निकालेको थियो । सडकमा आश्रित ८० जना बालबालिका र किशोरकिशोरीलाई तत्काल खोप दिन आवश्यक रहेको सिविन नेपालका सहायक परियोजना व्यवस्थापक विष्णु पौडेलले जानकारी दिनुभएको छ ।
दोश्रो बन्दाबन्दीको समयमा, कागेश्वरी मनोहरा ८ गोठाटारमा, सडकमा आश्रित २५ युवालाई स्थानिय सरकारको पहलमा विना जन्मखुुल्ने कागजपत्र नै कोभिड १९ विरुद्धको खोप दिइएको थियो ।