चैत ३० गते २०७८, काठ्माडौं ।
सडकमा आश्रित परिवारका बालबालिका सडम मै पुग्नुको विकल्प नहुने गरेको तर्फ सडकमा आश्रितहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । जन्मदर्ताको अभाव, वयस्कको विवाह दर्ता नहुनु, कुनै निश्चित आयश्रोतको उपाय नहुनुजस्ता कारणले सडकमा आश्रित परिवारबालबालिका फेरी सडकमै पुग्ने गरेको उनीहरुले बताएका हुन् । सडकमा आश्रित बालबालिकामा समर्पित अन्तराष्ट्रिय दिवस मनाउने क्रममा भएको अन्तक्र्रिया कार्यक्रममा उपस्थित बालबालिकाले, उनीहरु सडकमा हुँदा भोगेका समस्या र जोखिमबारेमा उपस्थितहरुलाई बताएका थिए ।
कार्यक्रममा सिविन नेपालका परियोजना सहव्यवस्थापक विष्णु पौडेलले काठ्माडौंमा मात्रै ४ सयभन्दा बढी सडकमा आश्रित बालबालिका रहेको र उनीहरुको सुरक्षा र संरक्षणमा भएका चुनौतीका बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो । स्ट्रीट फिल्ड् वर्कर्स् फोरमका बद्री प्रसाद शर्माले सडकमा आश्रितहरुसँग काम गर्दा भोग्नु परेका समस्या र विभिन्न संघसंस्थाको सहकार्यमा अहिलेसम्म भएका उपलब्धिका बारेमा जानकारी दिनुभयो ।

बालबालिका खोज तलाश समन्वय केन्द्र १०४ का प्रहरी नायव उपरिक्षक मदन कुँवरले अहिले सडकमा अभिभावकसहित रहने बालबालिकाको संख्या बढी भएकोले त्यसतर्फ सोच्न आवश्यक रहेको औंल्याउनु भयो । सँगै राष्ट्रिय बालअधिकार परिषद्को निर्देशन अनुसार अहिले लेखाजोखा फारम भर्ने शुरुवात भएको नायव उपरिक्षक कुँवरले जानकारी गराउनु भयो । यसरी लेखाजोखा फारम भर्दा प्रहरीको सम्पर्कमा आउने सबै बालबालिकाको तत्थांक आवधिक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यसैक्रममा राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले, नयाँ स्वरुपमा सडकमा बालबालिका देखिन थालेको जसमा भारतिय बालबालिकाहरु समेत रहेको भन्दै सडक बालबालिकाको संरक्षणमा नयाँ चुनौतीहरु देखिएको उल्लेख गर्नुभयो । यो सन्दर्भमा अहिले नागरिक संघसंस्था, सरकारी निकाय र अरु सरोकारवाला निकाय मिलेर छिटो पहल थाल्नुपर्ने कार्यकारी निर्देशक धरेलले जिकिर गर्नुभयो । सडक बालबालिकाको हक स्थापना र संरक्षण पहल पहिले नागरिक संस्थाहरुबाटै शुरुभएको भन्दै सरकारले स्वामित्व लिइसकेपछि अहिले यो पहललाई दीगो बनाउने तर्फ काम भएको उहाँले उल्लेख गर्नुभयो । साथै अहिले बालबालिका खोज तलास समन्वय केन्द्र १०४ लाई प्रदेशमा विस्तार गर्न पहल थालिसकिएको पनि उहाँले जानकारी गराउनु भयो । साथै अहिले सडकबाट सिपतर्फ, सडकबाट परिवारसम्म र सडकबाट स्टेडियमसम्म भनेर तीन किसिमका कार्यक्रम अगाडि ल्याएर सडकमा आश्रित बालबालिकाको उद्धार, संरक्षण र पुनस्र्थापना तर्फ काम भइरहेको पनि उहाँले स्मरण गराउनु भयो ।
सडकमा आश्रितहरुको अन्तराष्टिय दिवसको अवसरमा स्ट्रीट् फिल्ड् वर्कर्स् फोरम र टोय् बक्स्सँगको सहकार्यमा सिविन नेपालले आयोजना गरेको कार्यक्रममा सडकमा आश्रित परिवारका सदस्य, सडकमा आश्रित बालबालिका, यस क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि, सरकारी निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।